अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

काठमाडौँ, २ असार — काठमाडौँको तीनकुनेमा रहेको नेपाल क्यान मुभ प्रा.लि.का सञ्चालक तथा शेयरधनीहरूले अष्ट्रेलियामा सर्भर राखी मिलेमतोमा ठूलो परिमाणमा कर छली गरेको पाइएको छ। राजस्व अनुसन्धान विभागका अनुसार उनीहरूले ६८ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कर छली गरेका छन्।

विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार कम्पनीका शेयरधनी/सञ्चालक सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेलविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ।

उनीहरूविरुद्ध एक अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कर, जरिवाना र ब्याज असुल गर्नेसहित कैद सजायको मागदाबी गरिएको छ। उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले मतियारको भूमिकामा रहेको ठहर गरिएकाले उनको हकमा आधा सजायको माग गरिएको छ।

विभागले कम्पनीको कारोबार स्थलमा आकस्मिक निरीक्षण गर्दै अनलाइन प्रणाली तथा महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा कम्पनीले सेवा बिक्रीसम्बन्धी सर्भर अष्ट्रेलियामा राखी कर विवरण नदेखाई बिक्री आम्दानी लुकाएको खुलेको हो।

सर्भर विदेशी भूमिमा राखी कर प्रशासनबाट बच्ने उद्देश्यले कम्पनीले एनसिएम पोर्टल सन् २०१९ (आव २०७६/७७) देखि सञ्चालन गरेको थियो। यसरी सेवा विक्रीलाई म्यानुअल बिलिङमार्फत तोडमोड गरी वास्तविक कारोबार लुकाइएको विभागको निष्कर्ष छ।

विभागका अनुसार प्रमुख शेयरधनी सुदीप आचार्य (५५.३३%) र जीवन ज्ञवाली (१६%) विभागको ताकेताका बाबजुद उपस्थित नभई फरार छन्। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार उनीहरूले प्रतिबन्धित कार्य गरी कानुन उल्लंघन गरेको ठहर विभागले गरेको छ।

विभागले दोषीहरूमाथि दफा ३ र दफा ४ को विभिन्न खण्डअनुसार कारबाहीको माग गर्दै बिगो रकम र जरिवाना सहित क्षतिपूर्ति र कैद सजायको मागसहित अभियोग दर्ता गरेको जनाएको छ।

Facebook Comments Box