देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २ असार — हाल कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी, देशको पश्चिमी भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको जनाइएको छ।
महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।त्यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, साथै अन्य प्रदेशका एक–दुई उच्च स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा राति पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा हल्का वर्षासहित हिमपात हुने सम्भावना महाशाखाले जनाएको छ।

