चितवनमा एकै स्थानबाट १,७१७ जनाको रक्तदान, नयाँ राष्ट्रिय रेकर्ड स्थापित
चितवन, १ असार – चितवनमा शनिबार सम्पन्न रक्तदान महोत्सवमा एकै स्थानमा १,७१७ जनाले रक्तदान गरेर राष्ट्रिय रेकर्ड कायम गरेका छन्। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भएको उक्त कार्यक्रम जिल्लाका सातै पालिकाका रक्तदाताको सहभागितामा सम्पन्न भएको हो। सो अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरले १,५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १८१ युनिट गरी कुल १,७१७ युनिट रगत सङ्कलन गरेका छन्।
रक्तदान महोत्सव अन्तर्राष्ट्रिय रक्तदाता दिवस (जुन १४) को अवसर पारेर आयोजना गरिएको हो। सोसाइटी चितवनका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक एकराज बुर्लाकोटीका अनुसार, “उपचारका क्रममा आवश्यक पर्ने रगतको अभावलाई कम गर्न र रक्तदानप्रति जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो।”
कार्यक्रमले एकै दिन एकै स्थानबाट सर्वाधिक रक्तदान संकलन गर्दै राष्ट्रिय रेकर्ड कायम गरेको सोसाइटीका सचिव तथा प्रचार संयोजक विपिन पाठकले जानकारी दिए। उनका अनुसार यसअघि २०७४ साल फागुन २५ गते लायन्स क्लब अफ काठमाडौं लगायतका संस्थाले टुँडिखेलमा आयोजित कार्यक्रममा १,५०० पिन्ट रगत सङ्कलन गरेर कीर्तिमान बनाएको थियो। “त्यसको तुलनामा यसपटक चितवनमा सङ्कलित रगतको सङ्ख्या बढी भएकाले यो नयाँ कीर्तिमान भएको हो,” पाठकले भने।

