कोहलपुरका ८६ अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण
बाँके, १ असार – कोहलपुर नगरपालिका–१ का ८६ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। वर्षौँदेखि स्थायी बसोबास गर्दै आएका ती परिवारलाई भूमि समस्या समाधान आयोग, बाँके जिल्ला समितिको पहलमा लालपुर्जा वितरण गरिएको हो।
जिल्ला समितिका अध्यक्ष घननाथ खनालका अनुसार अव्यवस्थित बसोबासी तथा सुकुम्बासीलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियान तीव्र गतिमा अघि बढाइएको छ। “जनताको आशा र अपेक्षा पूरा गर्न हामी निरन्तर काममा खटिएका छौँ,” अध्यक्ष खनालले बताए। आयोगका अनुसार कोहलपुर–१ का थप ७७४ अव्यवस्थित परिवारलाई आगामी असार ५ गतेदेखि लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ।
स्थानीय तहको साथ
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जग्गासम्बन्धी समस्या समाधानका लागि नगरपालिका सधैं सहकार्य गर्न तत्पर रहेको बताए। त्यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आयोगको कार्य सफल बनाउन स्थानीय तह, जनप्रतिनिधि तथा राजनीतिक दलको सक्रिय र जिम्मेवार भूमिका अपरिहार्य रहेकोमा जोड दिए।
आयोगको प्रगतिः
बाँकेको कोहलपुर नगरपालिका–१ मा आयोगले अहिलेसम्म ११७ जना भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिसकेको छ। बाँके जिल्लाका अन्य स्थानीय तह— बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुरमा पनि समस्याको समाधान प्रक्रियागत रूपमा अगाडि बढाइएको छ। अध्यक्ष खनालले प्राविधिक टोलीलाई फाँटमै काम गर्न सजिलो होस् भनेर सानातिना विवादमा नअल्झिन र आवश्यक सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

