कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १ असार – नेपालमा हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका विभिन्न भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, देशको पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुले पनि आंशिक प्रभाव पारेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। विशेष गरी कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा केही स्थानमा, र अन्य उच्च पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।

Facebook Comments Box