साफ यू-१५ महिला च्याम्पियनसिपमा बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालकाे लगातार दोस्रो जित
काठमाडौं, १९ कात्तिक – बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ८-० गोल अन्तरले हराएको थियो ।
अब नेपालले बुधबार भुटान र शुक्रबार पुन: बंगलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

