यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा

काठमाडौँ, १८ फागुन – आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकपमा पुगेको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा अलआउट हुदै १ सय ८४ रन मात्र बनायो ।

यूएईका लागि इथान काल्लले ६६ बलमा ५० रन बनाउँदा आर्यान सक्सेनाले ३४ रन बनाए । आर्याश शर्माले ३२ तथा अम्मर बदामीले १९ रन बनाए । नेपालका लागि दिपेश कँडेलले ५ तथा सुवास भण्डारी र हेमन्त धामीले समान २/२ विकेट लिए ।

२०१६ को विश्वकप पछि पहिलो पटक नेपाल विश्वकपमा छनोट भएको हो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए । उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए । नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् ।

यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिएका छन् । यो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने यू-१९ पुरुष विश्वकपमा सहभागीता जनाउने भएको छ ।

Facebook Comments Box