आज देशका धेरैजसो स्थानमा घाम लाग्ने, पहाडी भेगका केही स्थानमा भने वर्षा हुने सम्भावना

काठमाडौँ, ३२ असार – आज देशका धेरैजसो स्थानमा घाम लाग्ने मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज बिहान र दिउँसो देशका धेरैजसो स्थानमा घाम लाग्ने सम्भावना देखिएको हो। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि घाम लागेको छ।

मौसमविद् पौडेलका अनुसार हिजो शुक्रबार काठमाडौं उपत्यकाको अधिकत तापक्रम ३१ डिग्री सेल्सियस पुगेको थियो भने अहिले बिहानको न्यूनतम तापक्रम २३ डिग्री सेल्सियस छ। यसबीच तराई क्षेत्रको तापक्रम ३९ डिग्रीसम्म पुगेको उनले जानकारी दिए।

मौसमविद् पौडेलका अनुसार दिउँसो २/३ बजेपछि भने पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना छ। ‘त्यस्तो ठूलो झरी टाइपको वर्षाको सम्भावना छैन’, उनले भने। अहिले नेपालमा मनसुन ‘ब्रेक’ अवस्थामा रहेकाले धेरै वर्षाको सम्भावना नदेखिएको मौसमविद् पौडेलले जानकारी दिए। अहिले मनसुन भारतमा सक्रिय रहेकाले त्यतातिर चाहिँ वर्षा, बाढीको सम्भावना रहेको जानकारी पनि उनले दिए।

‘त्यो सिस्टम आइतबारदेखि माथि (नेपालतर्फ) आउने सम्भावना देखिएको छ’, उनले भने, ‘मंगलबारदोखि भने नेपालमा पनि वर्षाको मात्रा बढ्ने देखिएको छ।’  मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

Facebook Comments Box