दिलमायाका पिता केशर बिकले सूर्य श्रेष्ठविरुद्ध किटानी जाहेरी दिए

काठमाडौं, १३ असार – लोकगायिका दिलमाया सुनारका परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्। आइतबार साँझ सुर्खेतबाट आइपुगेका दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको वृत्तका डीएसपी गौतम मिश्रले बताए।

गायिका दिलमायाको शनिबार राति आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। त्यो राति सँगै रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ। सिन्धुपाल्चोकको साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ १५ महिनादेखि दिलमायासँग अवैध सम्बन्धमा रहेको खुलेको छ। उनका ४ छोराछोरी र श्रीमती गाउँमै छन्। दिलमायाका एक छोरा छन्। श्रीमानसँग डिभोर्स भइसकेको थियो।

दिलमायाले झुन्डिएर आत्महत्या गरेको श्रेष्ठले बताएका छन्। तर उनका गतिविधि शंकास्पद पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। श्रेष्ठले दिलमाया झुन्डिएको भनिएको सल महाराजगन्जस्थित झाडीमा फेला परेको छ। मोबाइल भने अझै भेटिएको छैन। दिलमायाको पोष्टमार्टम रिपोर्ट पनि आउन बाँकी छ। पेष्टमार्टमसँगै दिलमायाको आत्महत्या वा हत्या भन्ने प्रष्ट हुने उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए।

Facebook Comments Box