नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए
काठमाडौँ, ८ साउन – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। नेता रावलले सभामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारस्थित संसद सचिवालयमा भेटेर राजीनामा फिर्ता लिएका हुन्। ‘नेकपा एमालेका सांसद भीम रावलले राजीनामा फिर्ता लिनु भएको छ’, सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘उहाँको राजीनामा संसद सचिवालयमा आएको थियो। सभामुखसँगको आवश्यक परामर्शपछि उहाँको राजीनामा फिर्ता भएको हो।
उनले साउन ३ गते संघीय सांसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामा घोषणा गरेका थिए। उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाएको थिएन। स्रोतका अनुसार एमाले एक बनाउन ओली पक्षसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हटेका हुन्। राजीनामा फिर्ताबारे उनले बुधबार भएको भेटमा नेपालसँग छलफल गरेका थिए।
नेता नेपालले कार्यदलको १० बुँदे सहमति अनुसार एमालेमै रहेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि रावल राजीनामाबाट पछि हटेको स्रोतको दाबी छ। रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले दबाब दिएका थिए। राजीनामा घोषणा गर्ने दिन पनि अर्का नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न जोड गरेका थिए। तर, संसद भवन परिसरमै रावलले राजीनामा पत्र बाचन गरेका थिए। आजै प्रतिनिधि सभाको बैठक बस्दैछ।

