राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न दलहरुलाई आग्रह
काठमाडौं, ८ वैशाख – राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न दलहरुलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका हुन्।
नेपालको संविधानको धारा ३८ को उपधारा ४ ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको प्रत्याभूति गरेको स्मरण गराउँदै आयोगले त्यसको कार्यान्वयन गर्न दलहरुलाई आग्रह गरेको हो।
‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केही राजनीति दलहरुले गठबन्धन गरी उम्मेदवार मनोनयन गर्ने जानकारी सञ्चार माध्यमहरुबाट आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा दलहरुबाट कतिपय स्थानीय तहमा मेयर उपमेयर, अध्यक्ष र उपाध्यक्ष दुबैमा पुरुष मात्र उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको हुँदा त्यले संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिला सहभागी हुने हकको प्रत्याभूति हुन नसक्ने स्थितिको सिर्जना हुन जान्छ।’
आयोगले नेपालको संविधानको समानुपातिक समावेशीताको मर्म विपरीत देखिएका ऐन, नियमहरूलाई सुधार गरी समावेशी र मानव अधिकार मैत्री बनाउन नेपाल सरकार, व्यवस्थापिका तथा सबै राजनीतिक दलहरूलाई आग्रह समेत गरेको छ।

