फोटो खिच्न गएका शिक्षक पुलबाट खसेर मृत्यु
कैलाली, ४ माघ – कैलालीको गोदावरी पुलबाट खसेर एक मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको पुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार जीर्ण गोदावरी पुलमा सोमबार बेलुका फोटो खिच्न गएका शिक्षक पुलबाट खसेर घाइते भएका थिए। पुलबाट खसेर घाइते भएका शिक्षक भाटको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना निकै शंंकास्पद र शवको प्रकृति हेर्दा हत्या आशंका रहेकोले मृतकका आफन्तले सत्य, तथ्य छानविनको माग गरेका छन् । उता जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी बेदप्रकाश जोशी घटनाको अनुसन्धान भइरहेको बताउँछन्। ।
‘५ बजे पछि गोदावरी पुलमा जान दिदैनन्। पुलमा वार पनि छैन। फोटो खिच्न पुलमा गएका बेला खसेको प्रत्यक्षदर्शीले देखेपछि हामीलाई खबर आएको थियो,’ डिएसपी जोशीले भने, ‘मापसे पनि गरेको स्थानीयले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान गर्दैछौँ।’

