ललितपुरमा आजदेखि कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप दिइँदै

ललितपुर, ४ माघ – काठमाडौंपछि ललितपुरमा आजदेखि कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप दिइँदै छ। ललितपुर महानगरपालिकाले अग्रपङ्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, पत्रकार, कर्मचारी लगायतलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन लागेको हो।

आज देखि बिहीबारसम्म बुस्टर डोज खोप अभियान सञ्चालन गरिने छ। त्यसका लागि महानगरपालिकाले खोप केन्द्रसमेत निर्धारण गरेको छ। सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, निदान अस्पताल पुल्चोक, बीएण्डबी अस्पताल ग्वार्को, अल्का अस्पताल खरिबोट, मेडिसिटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलमा गएर बुस्टर डोज खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ।

सरकारी तथा सामुदायिक सङ्घसंस्थामा काम गर्ने कर्मचारी, बैंकिङ्ग सेवाका कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने छ। दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका लक्षित वर्गले खोप कार्ड र कार्यालयको परिचयपत्रको आधारमा बुस्टर डोज लगाउन पाउने महानगरपालिकाले जनाएको छ।

Facebook Comments Box