रास्वपाको प्रथम महाधिवेशनः उद्घाटनस्थल निर्माण कार्य तीव्र

चितवन, ४ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण कार्य तीव्र पारिएको छ। भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै आवश्यक संरचना निर्माणको काम द्रुत गतिमा भइरहेको हो।

उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिँदैछ। डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिने भएकाले घाम, पानी र हावाको प्रभावबाट सहभागीहरू सुरक्षित रहने जनाइएको छ। मिडिया स्पेस सोलुसन काठमाडौंले निर्माण कार्य गरिरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटा विशाल हल निर्माण गरिनेछ।

उक्त संरचनाभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान रहनेछ। साथै सहभागीहरूले डोमभित्रबाट मञ्च सहज रूपमा अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ। भट्टराईका अनुसार अन्तर्राष्ट्रियस्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधिअनुसार बलियो, सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको छ। महाधिवेशन नजिकिएकाले निर्माण कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो।

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था गरिने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। रास्वपाले उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताका साथै छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको जनाएको छ।

महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। उद्घाटन सत्र गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र नजिकै रहेको चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिने तयारी गरिएको छ।

Facebook Comments Box