काठमाडौँ उपत्यकामा १ सय ५ जना सहित देशभर थप २४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५ जना सहित देशभर थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७१, भक्तपुरमा ६ र ललितपुरमा २८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार १४५ आरटी पीसीआर तथा २ हजार ९१९ एन्टीजेन परिक्षण सहित ७ हजार १३६ जनाको परिक्षण गर्दा २४२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ९५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ३०३ रहेको छ । यसैगरी, पछिल्लो २४घण्टामा थप ४४४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४९५ रहेको छ ।

