प्रधानन्यायाधीशलाई महाभियोग नलगाए दलहरूविरुद्ध आन्दोलन थाल्ने ‘बृहत् नागरिक आन्दोलन’को चेतावनी

काठमाडौँ, २६ कात्तिक – बृहत् नागरिक आन्दोलन’ले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका विषयमा संसदका राजनीतिक दलहरू मौन बसिरहे उनीहरूविरुद्ध चाहिँ आन्दोलन थाल्ने चेतावनी दिएको छ।

न्यायिक नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर न्याय सेवा चलायमान गराउन सहयोग गर्नुपर्ने राजनीतिक दलहरूले अकर्मण्य मौनता साँधेको भन्दै बृहत् नागरिक आन्दोलनले गम्भीर क्षोभ प्रकट गरेको हो।

बिहीबार विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले भनेको छ, ‘प्रधानन्यायाधीश जबरा आफ्ना सहकर्मी न्यायाधीशहरूको बहिष्कार र अधिवक्ताहरूको आन्दोलनबाट एक्लिए पनि राजनीतिक नेताहरूको अनिर्णयको लाभ पाइरहेका छन्, जसबाट न्यायपालिका आफैं बन्दी हुन पुगेको छ।’

लोकतन्त्र र संविधान रक्षा गर्न भनेर उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गर्ने गठबन्धनका नेताहरूले ‘लोकतन्त्र र संविधानमा प्रत्यक्ष आघात पार्नेगरी न्यायपालिकामा जारी संकटप्रति आफ्नो जिम्मेवारी र कर्तव्य महसस नगर्नु गम्भीर राजनीतिक विचलन’ भएको आरोप बृहत् नागरिक आन्दोलनको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘न्यायपालिकाको संकट न्यायपालिका आफैंले समाधान गर्छ भन्नु न्यायपालिकाभित्रै बहिष्कृत प्रधानन्यायाधीशलाई टिकाउनु, त्यहाँभित्र भिडन्त निम्त्याउनु र न्यायपालिकामा न्याय किनबेचको अवस्था रोक्ने, सदाचार र सुशासन माग गर्ने आन्दोलनविरूद्ध उभिनु हो।’

नेपाल बारको नेतृत्वमा बिहीबार सर्वोच्च अदालतको परिसरभित्रै भएको प्रदर्शनविरूद्ध हतियारधारी प्रहरी परिचालन गरी आन्दोलनरत अधिवक्ताहरूलाई लछापरपछार गरिएको घटनाप्रति पनि बृहत् नागरिक आन्दोलनले आक्रोश प्रकट गरेको छ।

प्रधानन्यायाधीश जबराले बिचौलियाको नेतृत्व गरेको, परिवारका सदस्यमार्फत सोझै मोलमोलाइ गर्ने गरेको, ठूल्ठूला कारोबारहरू भएको, न्यायपालिकाको नूर गिर्ने व्यवहारहरू भएको भन्ने समाचार आइरहेकाले महाभियोग लगाएर मात्र नपुग्ने उल्लेख गर्दै बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबरा तथा उनको परिवारका सदस्यहरूको सम्पत्तिसमेत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ।

‘प्रधानन्यायाधीश जबराविरूद्ध संसदका दलहरूले आफ्नो राजनीतिक र संवैधानिक दायित्व निर्वाह गरेनन्, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन प्रक्रिया थालेन भने बृहत् नागरिक आन्दोलन तिनै दल तथा विभागविरूद्ध आन्दोलित हुने खबरदारी गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

Facebook Comments Box