मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन तुरुन्त हटाउन विज्ञापन बोर्डकाे निर्देशन
काठमाडौँ, २६ कात्तिक – कानुन विपरित कतिपय सञ्चार माध्यमहरुले चाडबाडको समयमा मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन गरेको भन्दै विज्ञापन बोर्डले आपत्ती जनाएको छ।
बोर्डका प्रशासकीय अधिकृत दिलिपकुमार महर्जनले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन र होर्डिङ बोर्डहरु तुरुन्त हटाउन आग्रह गरेका छन्। जनस्वास्थ्य सेवा ऐनले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण र प्रचारप्रसार गर्न रोक लगाएको छ।
तर, चाडबाडको समयमा कतिपय पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानुन विपरित मदिरा र सुर्तीजन्य सामग्रीका विज्ञापन प्रकाशन तथा प्रशारण भएको पाइएको भन्दै बोर्डले त्यस्ता विज्ञापन तुरुन्त हटाउन आग्रह गरेको हो। त्यस्ता विज्ञापनको प्रकाशन प्रसारण नरोके कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत बोर्डले दिएको छ।


