आज छठ पर्वमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी गौरीघाट जाने : पशुपतिको गौरीघाटलाई नव दुलही झैँ सिँगारियो

काठमाडौँ, २४ कात्तिक – छठ पर्वका लागि पशुपतिको गौरीघाटलाई नव दुलही झैँ सिँगारिएको छ । घाट बनाउने, झिलिमिली बत्ती जडान गर्ने, नदी सफाइ गर्नेलगायत मुख्य काम सम्पन्न भइसकेको गुह्येश्वरी गौरीघाट छठ व्यवस्थापन समितिका सचिब नवाल किशोर यादवले कनकाई संचार सँग बताए ।

छठ पर्वमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज ३ बजे गौरीघाट जाने कार्यक्रम रहेको छ । सूर्य भगवानको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ ।

व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । व्रत सुरु भइसकेको छ । व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्रै व्रत तोड्ने गरेका छन् ।

भारतको बिहार र नेपालको तराईका जिल्लामा प्राचिनकालदेखि नै छठलाई मुख्य पर्वका रूपमा मनाइँदै आइएको छ । पछिल्लो समय राजधानी काठमाडौँसहित बिभिन स्थानमा अन्य समुदायले पनि यो पर्व मनाउने गरेका छन् । “विगतमा यहाँ दुई लाखदेखि ३ लाखको हाराहारीमा मानिसहरू जम्मा हुने गरेका थिए ।

यहाँ आउनेमध्ये झन्डै ३० प्रतिशत अन्य समुदायबाट रहने गरेका छन् । कोरोनाका कारण गत वर्ष श्रद्धालुहरूले घरबाटै अर्घ दिए । यसपटक भने संख्या केही बढ्ने हाम्रो अनुमान छ,“ यादवले भने । छठ पर्वलाई हिन्दूमात्र नभएर मुस्लिम समुदायले समेत उत्तिकै श्रद्धाका साथ मनाउने गरेको यादवले बताए ।

Facebook Comments Box