मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बृद्धि
सिन्धुपाल्चोक, २० असोज – मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ ।
शिक्षा समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो । यसै वर्षदेखि लागू हुनेगरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलबभत्ता निर्धारण गरिएको शिक्षा शाखाका अधिकृत सुधीनराज बुढाथोकीले जानकारी दिनुभयो ।
जसमा विद्यालय सहायक कर्मचारीका लागि सङ्घीय सरकारबाट प्राप्त १३ हजार ५००, नगरपालिकाबाट तीन हजार ५०० थप गरी मासिक पारिश्रमिक रु १७ हजार निर्धारण गरिएको हो । प्रारम्भिक बाल विकास सहजकर्ताका लागि आठ हजार र नगरपालिकाबाट सात हजार थप गरी रु १५ हजार निर्धारण गरिएको छ ।
त्यस्तै नगरपालिकाबाट नियुक्त गरिएका बाल विकास सहजकर्ताका लागि नगरपालिकाबाट १५ हजार मासिक तलबको निर्धारण गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।
कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका सहयोगीलाई सङ्घीय सरकारबाट प्राप्त ६ हजार ५०० र नगरपालिकाबाट रु पाँच हजार ५०० थप गरी रु १२ हजार निर्धारण गरिएको छ ।
कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्म सञ्चालनमा आएको विद्यालयका सहयोगीहरुलाई सङ्घीय सरकारबाट प्राप्त नौ हजार ५०० र नगरपालिकाबाट पाँच हजार थप गरी रु १४ हजार ५०० निर्धारण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

