काठमाडौं उपत्यकामा अझै स्कुल खोल्ने नखोल्ने अन्योल कायमै
काठमाडौँ, २७ भदौ – कोभिड-१९ को संक्रमण घटेसँगै स्थानीय तहहरुले विद्यालय खोल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि १ असोजदेखि जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को अनुमति लिएर विद्यालय खोल्न सक्ने भनिएको छ ।
त्यसका लागि भदौ मसान्तभित्र विद्यालयहरुले स्थानीयलाई र स्थानीय तहले कोरोना संक्रमणको अवस्था, विद्यालय सञ्चालनका विधिसम्बन्धी विवरण डीसीसीएमसीमा पेश गर्नुपर्ने भनिएको छ । मुख्य शहरी क्षेत्रमा भएका स्थानीय तहहरु कसरी विद्यालय सञ्चालन गर्ने भनेर विद्यालय, अभिभावक लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेका जनाएका छन् ।
स्थानीय प्रशासनको निर्णयले अभिभावक तथा विद्यार्थी भने अन्योलमा देखिएका छन् । दशैं नजिकै आइरहेको र अधिकांश विद्यार्थीहरु गृहजिल्लामा भएकाले दशैंपछि विद्यालय खोल्न अभिभावकहरुले अनुरोध गरेको ललितपुर महानगरपालिका शिक्षा शाखाका प्रमुख महेन्द्र क्षेत्रीले बताए । उनले भने, ‘विद्यालयहरुले भौतिक दुरी कायम राखेर खोल्न पाउँ भनिरहेका छन्, तर गृहजिल्लामा भएका विद्यार्थी र उनीहरुको अभिभावक भने दशैंपछि खोल्न अनुरोध गरिरहेका छन् ।’
नेपाल अभिभावक महासंघले पनि उपत्यकाका विद्यालय खोल्न नहुने बताएको छ । महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका विद्यालय घना शहरी क्षेत्र भएको र अधिकांश विद्यालयमा विद्यार्थी संख्या पनि बढी भएकाले खोल्न हतार नगरौं भन्ने हाम्रो राय छ ।’
अधिकांश अभिभावक बालबालिका विद्यालय पठाउन ढुक्क नभएकाले दशैंसम्म हेर्नुपर्ने भन्दै अभिभावक महासंघले दशैंपछि माथिल्लो कक्षामा भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खोल्न सकिने बताएको छ ।
निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरी विद्यालय सञ्चालन गर्ने तयारीका साथ छलफल भइरहेको बताए । गतवर्ष पनि कोरोना महामारीकै बीच विद्यालय सञ्चालन गरेको अनुभव रहेकाले यस वर्ष तयारीका लागि धेरै समय नलाग्ने भन्दै उनले भने, ‘विद्यालय खोल्ने तयारीका साथ भौतिक संरचनाहरु व्यवस्थित बनाइरहेका छौं । गतवर्षको अनुभव पनि भएकाले खास समस्या छैन । समय पनि धेरै लाग्दैन ।’
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सकेसम्म असोजदेखि विद्यालय खोल्ने तयारीमा रहेको उनले बताए । केही अभिभावकले भने चाडबाड नजिकिँदै गरेकाले अहिले नै विद्यालय नखोल्ने कि भन्ने भन्ने राय दिएको अध्यक्ष पुरीले बताए ।
एन प्याब्सनले भने कसरी विद्यालय सञ्चालन गर्ने भनेर अभिभावकहरुसँग छलफल भइरहेको बताएको छ । अहिलेसम्म एकदम मिश्रति प्रतिक्रिया आएको भन्दै अध्यक्ष ऋतुराज सापकोटा भन्छन्, ‘कतिपय अभिभावक अझै डराउनु भएको छ, कतिपयले चाहिं बालबालिकाको भविश्य बग्रिने भन्दै विद्यालय खोल्नुपर्छ भनिरहनुभएको छ । त्यसैले हामी कुनै निष्कर्षमा पुग्न सकेका छैनौं ।’

