नुवाकोटमा हैजाविरुद्धको खोप ५० हजारभन्दा बढीले लगाए

नुवाकोट । बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न नुवाकोटमा सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानमा ५० हजार ४६७ जनाले खोप सेवन गरेका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभियान सञ्चालन गरिएको हो ।

जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अञ्जु कार्कीका अनुसार बाढी प्रभावित विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप दिने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत हालसम्म ५० हजारभन्दा बढीले खोप सेवन गरिसकेका छन् ।

डा कार्कीले सुरक्षित खानेपानी तथा सरसफाइको चुनौतीका कारण हैजा तथा अन्य पानीजन्य रोग फैलिन नदिन खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । बाढी प्रभावित क्षेत्रमा प्रयोग भइरहेको पानीमा ई–कोलाई अर्थात् दिसाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बाढीका कारण विस्थापितलाई विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको अवस्थामा खानेपानी र सरसफाइको अवस्था चुनौतीपूर्ण बनेकाले रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जनस्वास्थ्य कार्यालयका अनुसार एक वर्ष उमेर पूरा भएका सबैलाई खोप दिने व्यवस्था गरिएको छ । बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा सबै होल्डिङ सेन्टरमा खोप निःशुल्क उपलब्ध गराइएको छ ।

सार्वजनिक बिदाका दिनसमेत खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । हैजाका कारण कडा जलवियोजन भई ज्यानसमेत जान सक्ने भएकाले झाडापखालालगायतका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन डा कार्कीले आग्रह गर्नुभयो ।

विदुर नगरपालिकामा मात्रै ५९ हजार २५४ जनालाई खोप दिने लक्ष्य राखिएकोमा हालसम्म ४० हजार २९१ जनाले खोप सेवन गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले खोप लगाउन बाँकी बासिन्दालाई नजिकको स्वास्थ्य संस्थामा पुगेर खोप लिन आग्रह गर्नुभयो ।

गत भदौ १० गतेको बाढीपछि महामारीजन्य रोगको सङ्क्रमण रोकथामका लागि स्वास्थ्यकर्मीले खोपसँगै पानी उमालेर वा शुद्धीकरण गरेर पिउन, साबुनपानीले नियमित हात धुन, खाना सफा राख्न तथा घर, टोल र आसपासको वातावरण स्वच्छ राख्न आग्रह गरेका छन्

Facebook Comments Box