सर्वोच्च अदालतमा तोकिएका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित
काठमाडौं, २५ भदौ – सर्वोच्च अदालतमा तोकिएका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ। मंगलबार जेनजी युवाको प्रदर्शन का क्रममा अदालत भवनमा आगजनी हुँदा इजलासदेखि मिसिल, सर्भरसहित सम्पूर्ण संरचना जलेर नष्ट भएको कारण देखाउँदै सुनुवाइ रोकिएको हो।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले बुधबार बिहान सूचना जारी गर्दै लेखेका छन् — “मुद्दाका मिसिल, सर्भर, इजलास जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दा स्थगित गरिएको छ। भोलिदेखिका पेसीसमेत अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएका छन्।”
भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि अदालतको नियमित कामकाज ठप्प बनेको छ।
अहिलेसम्म क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन तर स्रोतका अनुसार महत्वपूर्ण संवैधानिक र कानुनी मुद्दाहरू समेत प्रभावित हुने भएका छन्।
यसअघि सर्वोच्च अदालतमा दैनिक औसत ४०० भन्दा बढी मुद्दामा सुनुवाइ हुने गरेको थियो। अब अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणदेखि उच्च प्रोफाइल मुद्दासम्मका सबै प्रक्रिया अवरुद्ध हुने भएका छन्।

