अमेरिकामा मादुरो दम्पतीविरुद्ध यातनाको नयाँ आरोप
न्यूयोर्क । अमेरिकामा भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध यातनासम्बन्धी नयाँ आरोप दर्ता भएको छ। बिहीबार सार्वजनिक अदालती कागजातअनुसार मादुरो दम्पतीमाथि यातनाको षड्यन्त्र गरेको अतिरिक्त आरोप लगाइएको हो। उनीहरूमाथि गम्भीर शारीरिक तथा मानसिक पीडा पुर्याएको आरोप छ।
अभियोजकहरूका अनुसार राजनीतिक विपक्षीलाई दमन गर्ने, असहमतिका आवाज दबाउने र विरोधीहरूलाई डरत्रास देखाएर निष्क्रिय पार्ने उद्देश्यले यातना दिइएको आरोप लगाइएको छ। अमेरिकी अभियोजकहरूले भेनेजुएलाको हिरासतमा रहेका अज्ञात पीडितलाई विद्युतीय झट्का दिने, पानीमा डुबाएर यातना दिने र कुटपिट गर्नेजस्ता घटना भएको विवरण पनि प्रस्तुत गरेका छन्।
मादुरो र उनकी पत्नीलाई गत जनवरीमा भेनेजुएलाको राजधानी काराकासबाट अमेरिकी सेनाले पक्राउ गरी अमेरिका लगेको थियो। त्यसयता उनीहरू लागुऔषध तस्करी र हातहतियारसम्बन्धी आरोपमा अमेरिकी हिरासतमा छन्। उनीहरूविरुद्धको मुद्दाको सुनुवाइ आगामी जुन महिनामा न्यूयोर्कमा गर्ने तयारी छ। हाल दुवै जना ब्रुकलिनस्थित जेलमा थुनामा रहेका छन्।

