हेंवाखोलामा डाइभर्सन नबन्दा तमोर करिडोरमा यातायात प्रभावित
पाँचथर । पाँचथरको निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत हेंवाखोलामा डाइभर्सन निर्माण नहुँदा आठ महिनादेखि यातायात आवागमन प्रभावित भएको छ। हिउँद सुरु भएसँगै खोलाको पानीको बहाव घटेपछि फिदिम–मुलघाट खण्डमा यातायात सञ्चालनमा आए पनि फिदिम–काबेली खण्डमा भने समस्या कायमै छ। डाइभर्सन नहुँदा ठूला सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् भने मोटरसाइकल, तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन वारपार गर्न सकेका छैनन्।
हेंवाखोलामा पानीको बहाव अझै बढी रहेकाले साना सवारीसाधन पार गर्न कठिन भएको स्थानीयवासीले बताएका छन्। डाइभर्सन नहुँदा हिलिहाङ गाउँपालिकाका बासिन्दाले सदरमुकाम फिदिम आवतजावत गर्न दोब्बरभन्दा बढी दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। यातायात अवरुद्ध हुँदा स्थानीयवासीको दैनिक जनजीवनसँगै माझीटार क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको छ।
स्थानीयले निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायको बेवास्ताका कारण समस्या लम्बिएको भन्दै तत्काल डाइभर्सन निर्माण गर्न माग गरेका छन्। निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ। यहाँ रहेको बेलिब्रिज र खोला किनाराको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो।
यसअघि नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण गरेर यातायात सञ्चालन गरिँदै आए पनि यस वर्ष निर्माण कम्पनीले चासो नदिएको र पुल निर्माणमा समेत प्रगति नभएको स्थानीयको गुनासो छ। स्थानीयवासीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरी तत्काल डाइभर्सन निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

