नवलपुरमा बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
पूर्वी नवलपरासी – पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १० बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ। उनीहरूमध्ये अश्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ। अन्य छ जनाको अवस्था मध्यमदेखि सामान्य रहेको छ। दुर्घटनामा घाइते भएका पाँच जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका छन्।

