संखुवासभामा स्क्रब टाइफस संक्रमितको सङ्ख्या ५६० पुग्यो

संखुवासभामा – संखुवासभामा चालु आर्थिक वर्षको साउनयता स्क्रब टाइफस संक्रमितको सङ्ख्या ५६० पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असोज २१ गतेसम्म जिल्ला अस्पतालमा ३९३ जना र स्थानीय तहका स्वास्थ्य संस्थामा १६७ जनामा संक्रमण पुष्टि भएको हो।

कोसी प्रदेशका १४ जिल्लामध्ये संखुवासभामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी ११० जना र चैनपुर नगरपालिकामा ४३ जना संक्रमित भएका छन्। चालु आर्थिक वर्षको तीन महिनामै संक्रमितको सङ्ख्या गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएका संक्रमितभन्दा बढी पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा ५४८, २०८१/८२ मा ३४१ र २०८२/८३ मा ४६७ जनामा संक्रमण पुष्टि भएको थियो।

वर्षायाममा घाँसपात र झाडी बढ्ने तथा त्यस्ता क्षेत्रमा काम गर्ने क्रम बढ्ने भएकाले संक्रमणको जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा हालसम्म स्क्रब टाइफसका कारण कसैको पनि मृत्यु भएको छैन।संक्रमित सूक्ष्म माइटको लार्भाले टोकेपछि सर्ने यस रोगका प्रमुख लक्षण उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थि सुन्निने, छालामा बिमिरा आउने र टोकेको स्थानमा कालो खटिराजस्तो दाग देखिनु हुन्। स्वास्थ्यकर्मीले यस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्।

Facebook Comments Box