आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहने
काठमाडौं । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।
आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। शनिबार बिहान काठमाडौं उपत्यका तथा देशका खोँच र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

