किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण
खोटाङ । किरात समुदायको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संस्कृति झल्काउने विभिन्न संरचना निर्माण गरिएको छ। खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा रहेको साल्पा–सिलिचुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ अर्थात् धामी, कल्चुडा चरा, तीन चुल्हासहितको मुन्दुमी माङथाम तथा चिण्डोसहितको प्रवेशद्वार र स्वागतद्वार निर्माण गरिएको हो।
साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अनुसार देश तथा विदेशमा रहेका किराती र गैरकिरातीबाट सङ्कलित दुई करोड ८४ लाख रुपैयाँमध्ये दुई करोड ६२ लाख रुपैयाँ खर्च गरेर भौतिक संरचना निर्माण गरिएको हो। संस्थाका अध्यक्ष राजेन खिम्बु राईका अनुसार किराती मुन्दुमअनुसार साल्पा–सिलिचुङलाई सृष्टि र मुन्दुमको उत्पत्तिस्थल मानिन्छ। यस क्षेत्रको संरक्षण, प्रवर्द्धन र विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
तीन चरणमा अघि बढाइएको अभियानअन्तर्गत यसअघि सुम्निमा, पारुहाङ र नाक्छुङका प्रतिमा स्थापना गरिएको थियो। यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी चिण्डो, साल्पापोखरीमा पारुहाङको प्रतिमा तथा कल्चुडा चराको प्रतिमा स्थापना गरिएको छ। समुद्री सतहदेखि तीन हजार ४४३ मिटर उचाइमा रहेको साल्पा–सिलिचुङ क्षेत्र किरात समुदायको आस्थाको केन्द्रका रूपमा परिचित छ।
यहाँस्थित साल्पापोखरीमा प्रत्येक वर्ष वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा मेला लाग्ने गर्छ। मेलामा विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्। यस क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र कुम्भकर्णलगायतका हिमाल तथा विभिन्न प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। सरकारले निर्धारण गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यमा समेटिएको मुन्दुम पदमार्गसमेत साल्पा–सिलिचुङसम्म विस्तार गरिएको छ।
पछिल्लो समय मुन्दुम पदमार्ग आसपास होटल तथा होमस्टे सञ्चालनमा आउन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण पनि बढ्दै गएको स्थानीयवासीले बताएका छन्। अभियानअन्तर्गत हालसम्म भएका आर्थिक तथा भौतिक प्रगति सार्वजनिक गर्न समितिले मङ्सिर १८ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ।

