आज बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज नोभेम्बर २७ अर्थात् बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै बालविवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ। यस वर्ष पहिलोपटक यो दिवस मनाउन लागिएको हो।

राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको छ। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताउनुभएको छ।

उहाँले गरिबी, द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका कारण बालविवाहको जोखिम थप बढ्ने उल्लेख गर्नुभएको छ। पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका माध्यमबाट विश्वभर करिब ६ करोड ८० लाख बालविवाह रोक्न सफल भएको राष्ट्रसङ्घले जनाएको छ। तर, वर्तमान प्रगतिको गतिले बालविवाह अन्त्य गर्न अझै करिब तीन सय वर्ष लाग्न सक्ने चेतावनी दिएको छ।

विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा रहेका छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।

राष्ट्रसङ्घले बालविवाह अन्त्यका लागि १८ वर्षलाई विवाहको न्यूनतम उमेर कायम गर्ने कानुनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षामा पहुँच विस्तार, आर्थिक सुरक्षा तथा लैङ्गिक विभेद अन्त्य गर्नुपर्नेमा जोड दिएको छ। दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखिएको छ। तर, उक्त लक्ष्य हासिल गर्न हालको प्रयासको गति उल्लेख्य रूपमा बढाउनुपर्ने राष्ट्रसङ्घले जनाएको छ।

Facebook Comments Box