बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक जना बेपत्ता

 बागलुङ । अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पछिल्लो दुई दिनमा जिल्लामा पहिरोका कारण ठूलो मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो ।

तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घरसमेत बगाएको छ । तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती भने बेपत्ता छन् ।

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन् । निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको छ । केही दिनदेखिको वर्षाका कारण बाढीपहिरोले तनहुँका छ स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्देमा दुई, घिरिङमा छ, ऋषिङमा दुई, बन्दीपुरमा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको हो ।

क्षति पुगेका घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । पहिरोका कारण व्यास नगरपालिका–१ स्थित राइस मिलमा समेत क्षति पुग्दा एक सय बोरा धान भिजेको छ । भिमाद नगरपालिका–६ मालेबगरमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको प्रहरीले जनाएको छ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ ।

बाढीले सीता गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको जनाएको छ ।

Facebook Comments Box