हुम्लामा जडीबुटी संकलन गर्न गएका मुगुका दुई जना अझै सम्पर्कविहीन
सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा कटुको जडीबुटी संकलन गर्न गएका मुगुका दुई जना अझै सम्पर्कविहीन छन् । १३ जनाको समूहमा गएका उनीहरूमध्ये १० जना सम्पर्कमा आएका छन् भने एक जनाको हिउँमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–९ का ३६ वर्षीय ललितजंग बढुवाल र २६ वर्षीय अंख रोकाय छन् । उनीहरू सम्पर्कमा नआएको जानकारी गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगुलाई गराएको छ ।
मुगुम कार्मारोङ–९ पापुका २२ वर्षीय गणेश बुढाको भने हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए । २८ भदौमा पापु र छाइलका १३ जना स्थानीय कटुको संकलनका लागि हुम्लाको मिमि पाटन पुगेका थिए ।
जडीबुटी संकलनका क्रममा सामुदायिक वन उपभोक्ता समितिले संकलन गर्न नदिएपछि उनीहरू फर्किएका थिए । फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको डीएसपी थपलियाले बताए ।
प्रहरीका अनुसार पापुका बलबहादुर बुढा, प्रकाश बुढा, जयबहादुर बढुवाल, बच्चा बुढा, प्रिय बुढा र सर्जन बुढा तथा छाइलका जयबहादुर रोकाय, वीरबहादुर ऐडी, प्रेम रोकाय र पवन रोकाय सम्पर्कमा आएका छन् । सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको छ । मिमि क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले दुवैतर्फका सुरक्षा निकायले खोजी गरिरहेका छन् । उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले सम्पर्कविहीन दुई जनाको खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

