मर्स्याङ्दीको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा

पोखरा । लगातारको वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ फेरि डुबानमा परेको छ । २०७८ सालको बाढीले क्षति पुर्‍याएको तालगाउँको पुनर्निर्माण केही समयअघि मात्रै सकिएको थियो । स्थानीय अगुवा राजन गुरुङका अनुसार नदीको बहाव डाँडामा थुनिएपछि गाउँ जलमग्न भएको हो ।

बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिणतर्फका दुवै सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । गाउँ चारैतिरबाट घेरिएपछि स्थानीयवासी गाउँमै थुनिएका छन् । स्थानीयवासी सामूहिक रूपमा स्वास्थ्य चौकीको भवनमा बसेका छन् । विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै मनाङमा टेलिफोन सम्पर्कसमेत विच्छेद भएको बताइएको छ ।

तालगाउँका स्थानीयसँग सम्पर्क टुटेका कारण गाउँ र त्यस आसपासको वास्तविक अवस्थाबारे जानकारी लिनसमेत कठिनाइ भएको गुरुङले बताउनुभयो । मर्स्याङ्दी नदीको बहाव अझै बढिरहेको र प्राकृतिक बहावमा समेत अवरोध देखिएकाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Facebook Comments Box