नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौँ । नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढेर खतराको तह पार गरेपछि तटीय तथा डुबान सम्भावित क्षेत्रमा बाढीको उच्च जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार नारायणी नदीको खतराको तह ९ मिटर रहेकामा जलसतह करिब ११ मिटर पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा आज बिहान ११ बजेतिर जलसतह बढेर अधिकतम १३ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । आज साँझसम्म नदीको जलसतह खतराको तहभन्दा माथि नै रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ । सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि रही बढ्दो क्रममा छ । बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता तह नजिक पुगेको छ ।

नारायणीमा बहाव उच्च भएपछि चितवन र नवलपरासीका नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ ।

नारायणी तथा यसका सहायक नदीका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र नदी किनार, पुल, तटबन्ध तथा अन्य जोखिमयुक्त स्थानमा हेर्न वा फोटो–भिडिओ खिच्न भिड नगर्नसमेत आग्रह गरिएको छ । कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी तथा आसपासका शाखा खोलानालामा आज साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box