भोटेकोशी बाढी उद्धारमा नेपाली सेनाको भूमिका ऐतिहासिक र अनुकरणीय
काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा विपद् व्यवस्थापनमा आफ्नो भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । सेनाका अनुसार प्रतिकूल मौसम, साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तर पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता उच्च जोखिमका बीच उद्धार अभियान सञ्चालन गरिएको थियो ।
गत भदौ १० गतेको भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत क्षेत्रमा नौ हजार तीन सयभन्दा बढी सैनिक परिचालन गरिएको सेनाले जनाएको छ । चारवटा क्विक रियाक्सन टिम र आपत्कालीन मेडिकल टिमसहित हेलिकप्टर परिचालन गरिएको थियो ।
सडक सञ्जाल अवरुद्ध भएपछि हवाई उद्धारलाई प्राथमिकता दिँदै एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर तथा निजी क्षेत्रका हवाई साधन परिचालन गरिएको थियो । त्रिशूली र धुन्चेमा आधार बनाएर दैनिक १५ देखि २२ वटासम्म हेलिकप्टर सञ्चालन गरी एक हजार ६ सयभन्दा बढी उडान गरिएको सेनाले जनाएको छ ।
हवाई उद्धारमार्फत तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी गरी चार हजार २४२ जनाको उद्धार गरिएको थियो । प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, रासन तथा अक्सिजन सिलिन्डरसमेत एयरलिफ्ट र ड्रोनमार्फत पुर्याइएको थियो । जमिनी खोज तथा उद्धारका क्रममा नदी किनार, जङ्गल, डाँडाकाँडा तथा बाढी प्रभावित बस्तीमा पैदल गस्ती सञ्चालन गरी शव सङ्कलन तथा खोजी गरिएको थियो ।
थर्मल ड्रोनलगायत आधुनिक उपकरण प्रयोग गरी सम्भावित स्थानको पहिचान गरिएको र एक हजार ४५१ शवको व्यवस्थापनमा सहयोग गरिएको सेनाले जनाएको छ । बाढीपछिको उद्धारको सबैभन्दा जटिल काम जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार रहेको सेनाको निष्कर्ष छ । विभिन्न सुरुङमा दुई हजार ७९८ जनाको खोज तथा उद्धार गरिएको र लेदो, माटो तथा चट्टानले पुरिएका सुरुङबाट सात जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ ।
त्रिशूली–३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्साभेटर, रक ब्रेकर तथा नियन्त्रित विस्फोटको प्रयोग गरी भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको उद्धार गरिएको थियो । माथिल्लो त्रिशूली–१ को अडिट सुरुङबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी एक चिनियाँ नागरिकको उद्धार गरिएको तथा ३७ शव सङ्कलन गरिएको सेनाले जनाएको छ ।
चिलिमे सुरुङमा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोलेर खोजी गर्दा पाँच शव तथा मानव अङ्ग सङ्कलन गरिएको थियो । रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा समेत उत्खनन र खोज तथा उद्धार गरिएको थियो । छिमेकी तथा मित्र राष्ट्रका जनशक्ति र प्रविधिसमेत प्रयोग गरी संयुक्त रूपमा सुरुङ उद्धार गरिएको सेनाले जनाएको छ ।
बाढी प्रभावितको स्वास्थ्य उपचारका लागि त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गरिएको थियो । त्यसबाट चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा पाएका थिए । गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर उपचार गरिएको तथा विस्थापितका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा उपलब्ध गराइएको सेनाले जनाएको छ ।
पूर्वाधार पुनःस्थापनातर्फ नुवाकोटको देवीघाटस्थित तादी नदीमा ६० मिटर लामो र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणीघाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिएको र बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि आवश्यक पहुँचमार्ग निर्माण अघि बढाइएको सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भोटेकोशी बाढीले विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने सन्देश दिएको बताउनुभयो ।
उहाँले विपद्को कठिन अवस्थामा अग्रपङ्क्तिमा खटिएर सेनाले गरेको खोज तथा उद्धार भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्त बन्ने बताउनुभयो । भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह र समुदायबीचको समन्वय तथा सहकार्यले समेत उद्धार तथा पुनःस्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको सेनाले जनाएको छ ।

