खुम्बुमा भारी हिमपात, इम्जा छेमा रोकिएका सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ । निरन्तर वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण जोखिमयुक्त क्षेत्रमा थप अघि नबढ्न पर्यटक तथा पदयात्रीलाई रोक लगाइएको छ ।
पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय तह, प्रहरी र स्थानीयवासीसँगको समन्वयमा उच्च क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको प्रशासनले जनाएको छ । भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । प्रशासनका अनुसार चिनियाँ मूलका ती पर्यटक युरोपेली नागरिक रहेको जानकारी आएको छ । माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो ।
इम्जा छे सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो । समुद्री सतहबाट करिब ६ हजार १६५ मिटर उचाइमा रहेको यो क्षेत्र स्थानीय रूपमा इम्जा छे नामले चिनिन्छ । प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको छ । प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा १ हजार २०० भन्दा बढी पर्यटक रहेका छन् । उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमलाई ध्यानमा राख्दै पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन सूचना जारी गरिएको छ । थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा समेत हिमपात भइरहेको गाउँपालिकाले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज तथा स्थानीय प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र गाउँपालिकाले जारी गरेका सुरक्षा सूचनाको पालना गर्न आग्रह गरेका छन् । हिमपात थप बढेमा उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबीच समन्वय कायम गरिएको प्रमुख जिल्ला अधिकारी थापामगरले बताउनुभएको छ ।

