छारेभिरमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकै छारेभिरमा पहिरोसँगै ठूला ढुङ्गा खस्दा करिडोर अवरुद्ध भएको छ । शनिबार पहिरो खस्दा करिब एक सय मिटर सडकमा ढुङ्गा थुप्रिएपछि करिडोरमा सवारी आवागमन ठप्प भएको हो । सडकमा ठूला ढुङ्गा खसेकाले तत्काल सामान्य उपकरणबाट सडक खुलाउन कठिन भएको प्रशासनले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जिल्ला सदरमुकाम सिमकोटमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै रोकिएका छन् । अदानचुली–२ का कमल बुढाका अनुसार श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान सिमकोटतर्फ आएका उनीहरू पहिरोका कारण सर्केगाडको खडीखेतमा रोकिएका छन् ।
स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन् । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन आवश्यक पहल भइरहेको बताउनुभयो । सडकमा ठूला ढुङ्गा थुप्रिएकाले फुटाएर हटाउनुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध स्थानीय तहका प्रमुख तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको छ । आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताउनुभयो ।
दुर्गम क्षेत्रमा आवश्यक उपकरण तथा जनशक्ति तत्काल जुटाउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रशासनले जनाएको छ । निरन्तर काम अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लामा नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

