दुई महिनामा सरकारको राजस्व २५ अर्बले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन–भदौमा सरकारको राजस्व सङ्कलन २५ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ८३ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ अर्ब ५३ करोड २७ लाख रुपैयाँ बढी हो । गत आवको भदौसम्म एक खर्ब ५७ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालु आवको भदौसम्म सङ्कलित राजस्वमध्ये एक खर्ब ७२ अर्ब ४२ करोड रुपैयाँ कर राजस्व र १० अर्ब ७७ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ । यस अवधिमा सरकारले अनुदान र अन्य प्राप्तिबाट पनि आम्दानी गरेको छ । कार्यालयका अनुसार भदौसम्म पाँच अर्ब ५३ करोड सात लाख रुपैयाँ अनुदान र एक अर्ब ३७ करोड रुपैयाँ अन्य प्राप्ति भएको छ । राजस्व, अनुदान तथा अन्य प्राप्तिसहित सरकारको कुल आम्दानी एक खर्ब ९० अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा करिब ३० अर्ब रुपैयाँ बढी हो ।

सरकारको खर्च पनि गत आवको तुलनामा बढेको छ । भदौसम्म सरकारले एक खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा एक खर्ब ८० अर्ब ८१ करोड रुपैयाँ खर्च भएको थियो । कुल खर्चमध्ये चालुतर्फ एक खर्ब २२ अर्ब रुपैयाँ खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ सात अर्ब ६६ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थातर्फको खर्च भने ७० अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आवको भदौसम्म वित्तीय व्यवस्थातर्फ करिब ६० अर्ब रुपैयाँ खर्च भएको थियो ।

विकास निर्माणका लागि हुने पुँजीगत खर्चको तुलनामा सरकारले लिएको ऋणको साँवा भुक्तानीमा हुने वित्तीय व्यवस्थातर्फको खर्च बढ्दै गएको देखिएको छ । भदौसम्म सरकारको आम्दानीभन्दा खर्च करिब नौ अर्ब ७० करोड रुपैयाँ बढी रहेको छ । यस्तो खर्च व्यवस्थापनका लागि सरकारले ऋणलगायत स्रोत परिचालन गर्ने गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले आन्तरिक ऋण उठाइसकेको छ ।

Facebook Comments Box