अण्डाडाँडामा ढुंगा खसेर तीन दिनदेखि आरुघाट–लार्के सडक अवरुद्ध

गोरखा । उत्तरी गोरखाको आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–३ उहिया बेसीस्थित अण्डाडाँडामा ठूला ढुंगा खसेपछि तीन दिनदेखि सडक अवरुद्ध भएको छ । पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा बुधबार बिहानदेखि माथिबाट ढुंगा खस्न थालेपछि सडक अवरुद्ध भएको हो । वर्षायाम सुरु भएसँगै अण्डाडाँडामा पटक–पटक पहिरो जाने तथा ठूला ढुंगा खस्ने समस्या देखिँदै आएको स्थानीयले बताएका छन् ।

पछिल्लो पटक खसेका ढुंगाले सडकको केही भाग ढाकिएपछि यातायात सञ्चालनमा समस्या भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । उहाँका अनुसार सडकभन्दा करिब सय मिटर माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन कठिन भएको छ । ढुंगा खस्ने जोखिमका कारण उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधन तथा पैदलयात्रीसमेत जोखिममा परेका छन् । उहिया बेसी हुँदै यात्रा गर्ने स्थानीयवासी, विद्यार्थी तथा दैनिक यात्रुलाई सडक अवरुद्ध हुँदा समस्या भएको छ ।

वर्षा जारी रहेकाले थप पहिरो तथा ढुंगा खस्न सक्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरी तत्काल सडक सफाइ तथा सुरक्षित आवतजावतको व्यवस्था गर्न स्थानीयले माग गरेका छन् । बारम्बार सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक जनजीवनसँगै अत्यावश्यक सेवा तथा सामान ढुवानीमा समेत असर परेको छ । स्थानीयले सडकको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने बताएका छन् ।

Facebook Comments Box