पहिरो तथा बाढीका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ । कोशी प्रदेशअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ झोलुङ्गेपुल क्षेत्रमा मदन भण्डारी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ ।

बागमती प्रदेशमा काभ्रेको कुशकोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा समस्या छ । रसुवामा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ ठूलखोलास्थित टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विदुर नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ खत्रो क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ खारेखेतमा कर्णाली करिडोर पनि पूर्णरूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ । अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात व्यवस्थापन गर्ने काम भइरहेको सडक विभागले जनाएको छ ।

Facebook Comments Box