स्विडेनका प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा घोषणा
काठमाडौँ: स्विडेनको राष्ट्रिय निर्वाचनमा विपक्षी गठबन्धनले संसद्मा झिनो बहुमत हासिल गरेपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा घोषणा गर्नुभएको छ । निर्वाचन प्राधिकरणका अनुसार ३४९ सदस्यीय संसद् रिक्सडागमा विपक्षी चार दलले १७६ सिट जितेका छन् । निवर्तमान मध्य–दक्षिणपन्थी सरकारमा सहभागी वा समर्थन गर्ने चार दलले १७३ सिट प्राप्त गरेका छन् ।
अन्तिम मतपरिणाम सार्वजनिक भएपछि क्रिस्टरसनले सामाजिक सञ्जाल एक्समार्फत संसद्का सभामुखलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट आफूलाई मुक्त गर्न आग्रह गर्नुभएको छ । नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिन लागेको उहाँले बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री मग्डालेना एन्डरसन नेतृत्वको सोसल डेमोक्र्याटिक पार्टी ९९ सिटसहित संसद्को सबैभन्दा ठूलो एकल दल बनेको छ । एन्डरसन नेतृत्वको गठबन्धनमा सोसल डेमोक्र्याट्स, लेफ्ट पार्टी, सेन्टर पार्टी र ग्रिन पार्टी छन् । क्रिस्टरसनले तीनदलीय मध्य–दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै सरकार सञ्चालन गर्नुभएको थियो । उहाँको सरकारलाई स्विडेन डेमोक्र्याट्स पार्टीले संसद्मा बाह्य समर्थन दिएको थियो । उक्त पार्टीले यस निर्वाचनमा ६२ सिट जितेको छ, जुन अघिल्लो निर्वाचनभन्दा ११ सिट कम हो ।
विपक्षी गठबन्धनले बहुमत पाए पनि नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति जुटाउनुपर्ने देखिएको छ । सेन्टर पार्टीले स्विडेन डेमोक्र्याट्ससँग सहकार्य नगर्ने अडान राखेको छ भने लेफ्ट पार्टीसँगको सहकार्यप्रति पनि असहमति जनाउँदै आएको छ । त्यसैले सरकार गठनका लागि गठबन्धनभित्र वार्ता र सहमतिको आवश्यकता पर्ने देखिएको छ ।

