बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित
काठमाडौँ – बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ६ बजेसम्म बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध छन् ।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकमा अर्को सूचना नभएसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइनेछ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरी सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
रसुवाका मुख्य राजमार्ग भदौ १० गतेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटको टोखा–छहरे सडक खण्डमा सम्भावित बाढीपहिरोका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । यस्तै, पसाङ ल्हामु सडक खण्डको विदुर–१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प छ ।
सोही राजमार्गको ज्वाङखोला र शीतलबजारमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा सडक मर्मत भइरहेकाले सवारीको चापअनुसार एकतर्फी यातायात सञ्चालन गरिएको छ । कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली करिडोरमा सर्केगाड गाउँपालिका–६ खरीखेतमा पहिरोका कारण भदौ २९ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

