मनोहरा खोलामा बाढी बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ । काठमाडौँ र भक्तपुरको सीमाबाट बग्ने मनोहरा खोलामा गएराति पानीको बहाव बढेपछि खोला किनारका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारमा टहरा तथा घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटतर्फ पुगेका छन् । चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौँको साँखुसम्मको क्षेत्रमा साँझ परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको थियो ।
बस्तीमा पानी पसेपछि स्थानीयवासी लोकन्थली हाइटमा पुगेको स्थानीय कमलनाथ प्रसाईँले जानकारी दिए । उनका अनुसार राति ९ बजे खोलाको बहाव बढेपछि साइरन बजाइएको थियो । सरकारले यसअघि नै मनोहरा सुकुम्बासी बस्ती हटाएको भए पनि जडीबुटी–पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर तथा आफ्नै जग्गामा घरटहरा बनाएर बसेका बस्तीमा बाढी पसेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले खोलामा बाढीको बहाव बढेसँगै राति नै खोला किनारका बस्तीमा प्रहरी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनका अनुसार आवश्यक परे उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । राति १० बजेपछि भने मनोहरा खोलामा पानीको बहाव क्रमशः घट्दै गएको उनले बताए । बाढीको जोखिम कायमै रहेकाले प्रहरीले खोला किनारका स्थानीयवासीलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

