आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । यसको प्रभावले देशभर सामान्यतया बदली रही सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराई तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमतीका हिमाली तथा पहाडी भूभाग र गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

Facebook Comments Box