कांग्रेसको आधिकारिकता विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ, ६ माघ – सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले शेरबहादुर देउवा नेतृत्वको समूहले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
अदालतको आदेशमा भनिएको छ, “यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्र प्रयोग गरी कुन हदसम्म हस्तक्षेप गर्न मिल्ने भन्ने जस्ता जटिल राजनीतिकसम्बद्ध संवैधानिक प्रश्नहरूको निरूपण प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा सम्बोधन हुने प्रकृतिका देखिँदा हाल मागबमोजिमको अन्तरिम आदेश जारी गर्न परेन ।”
साथै, अदालतले रिट निवेदनमा जटिल र गम्भीर कानुनी तथा संवैधानिक प्रश्न उठाइएको देखिँदा ती विषयहरूको शीघ्र निरूपण आवश्यक रहेको भन्दै विपक्षीको लिखित जवाफ परेको वा अवधि व्यतित भएको मितिले १५ दिनभित्र उक्त रिटलाई अन्तिम सुनुवाइका लागि अग्राधिकार प्रदान गरेको छ ।
यसअघि देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकले थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको थियो ।
रिट निवेदन कांग्रेस नेता शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गर्नुभएको हो । निवेदनमा निर्वाचन आयोगको निर्णय बदर गर्न, यही माघ ६ गतेको निर्वाचनको उम्मेदवारी रोकी पाऊँ भनी माग गर्न तथा नयाँ निर्वाचित कार्यसमिति अवैधानिक ठहर गर्दै भङ्ग गर्न माग गरिएको छ ।

