१० करोड खर्चिएको कान्ति ताल बेवारिसे, भत्किँदै पर्यटकीय संरचना
नेपालगञ्ज । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरका रेलिङलगायतका संरचना भत्किएका छन् भने झाडी र बुट्यानले ताल क्षेत्र ढाकिएको छ । नियमित मर्मतसम्भार र रेखदेख नहुँदा ठूलो लगानीमा निर्माण गरिएका पूर्वाधार जीर्ण बनेका हुन् ।
स्थानीयवासीका अनुसार कान्ति ताल पर्यटकीय आकर्षणका साथै विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान पनि हो । संरक्षणको अभावमा तालको प्राकृतिक सौन्दर्य र जैविक विविधतासमेत जोखिममा परेको छ । ताल सञ्चालनको जिम्मा लिएका फनबहादुर गुरुङले ताल परिसरका रेलिङ तथा अन्य संरचनामा तोडफोड भएको बताउनुभएको छ । उहाँले संरचनाको संरक्षण र नियमित रेखदेखका लागि प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गर्दै सरोकारवालासँग छलफल गरेर दिगो संरक्षण र व्यवस्थापनको नयाँ योजना बनाउने तयारी भइरहेको बताउनुभएको छ । यस्तै, नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले कान्ति तालको तत्काल मर्मतसम्भार गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
करिब सात वर्षअघि सुरु गरिएको योजनामा ठूलो रकम खर्च भए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । स्थानीयवासीले तालको प्राकृतिक स्वरूप, जैविक विविधता र निर्माण गरिएका संरचनाको संरक्षण गर्दै प्रभावकारी व्यवस्थापन गर्न उपमहानगरपालिकासँग माग गरेका छन् ।

