साउदी अरबमा अमेजनका गोदाममा नेपाली श्रमिकमाथि शोषण
काठमाडौँ । साउदी अरबमा अमेजनका गोदाममा कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकले रोजगारी असुरक्षा, पारिश्रमिक नपाउने र दुर्व्यवहारजस्ता समस्या भोग्नुपरेको एक प्रतिवेदनले देखाएको छ। एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अमेजनले तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाएका श्रमिकलाई कामको आवश्यकता नभएको भन्दै हटाउने गरेको छ।
यसरी रोजगारी गुमाएका श्रमिकले अर्को काम नपाउँदासम्म हप्तौँदेखि महिनौँसम्म पारिश्रमिकविहीन हुनुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म रियादस्थित अमेजनको गोदाममा कार्यरत तथा हालै काम छाडेका नेपाल र भारतका २४ जना श्रमिकसँगको अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार पारिएको हो।
प्रतिवेदनअनुसार कामबाट हटाइए पनि श्रमिक भिसा प्रायोजन गर्ने कम्पनीकै नियन्त्रणमा रहने भएकाले अर्को रोजगारी खोज्न वा स्वदेश फर्कनसमेत कठिनाइ हुने गरेको छ। केही श्रमिकसँग स्वदेश फर्कने बहिर्गमन भिसाको प्रक्रिया अघि बढाउन दुई महिनाको तलबबराबर रकम मागिएको पाइएको छ।
त्यस्तै, गोदाममा उत्पादन लक्ष्य पूरा गर्न अत्यधिक दबाब दिने, निरन्तर निगरानी गर्ने र लक्ष्य पूरा गर्न नसके कामबाट निकाल्ने धम्की दिने गरिएको प्रतिवेदनमा उल्लेख छ। दुर्व्यवहारविरुद्ध उजुरी गर्दा श्रमिक आपूर्ति कम्पनीले प्रतिशोध साँध्न सक्ने डरले श्रमिकहरू गुनासो गर्नसमेत हिचकिचाउने गरेका छन्।
एम्नेस्टीका अनुसार सन् २०२३ मा यस विषयमा अनुसन्धान सार्वजनिक भएपछि अमेजनले साउदी अरबमा कार्यरत एक हजार १८० श्रमिकलाई २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो। तर तेस्रो पक्षका कम्पनीमार्फत श्रमिक भर्ना गर्ने प्रणालीका कारण शोषणको जोखिम अझै कायम रहेको संस्थाको निष्कर्ष छ।
एम्नेस्टीले श्रमिकलाई तेस्रो पक्षमार्फत नभई प्रत्यक्ष रोजगारी दिन अमेजनलाई आग्रह गरेको छ। भने अमेजनले श्रमिक आपूर्ति कम्पनीमाथिको अनुगमन बढाएको र काम सकिएपछि बाँकी पारिश्रमिक तथा सुविधा भुक्तानी गर्न निर्देशन दिएको जनाएको छ। अर्को रोजगारी उपलब्ध गराउन नसके श्रमिकलाई स्वदेश फर्कने खर्चसमेत कम्पनीले बेहोर्नुपर्ने व्यवस्था रहेको अमेजनको भनाइ छ।

