अमेरिकाका प्रमुख बैंकमा प्राविधिक समस्या, हजारौँ ग्राहक प्रभावित
वासिङ्टन । अमेरिकाका प्रमुख वाणिज्य बैंकहरूमा प्राविधिक समस्या आउँदा हजारौँ ग्राहक प्रभावित भएका छन् । जेपी मोर्गन चेस, वेल्स फार्गो, बैंक अफ अमेरिका र यूएस बैंकको अनलाइन बैंकिङ, एटिएम तथा रकम स्थानान्तरण सेवामा सोमबार दिउँसोदेखि अवरोध आएको बीबीसीले जनाएको छ ।
अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्था चेस बैंकले आफ्नो हार्डवेयर प्रणालीमा देखिएको सफ्टवेयर समस्याका कारण सेवा अवरुद्ध भएको र त्यसको असर अन्य बैंकमा समेत परेको हुनसक्ने जनाएको छ । सेवा अवरुद्ध हुँदा ग्राहकले बैंक खातामा लगइन गर्न, मौज्दात जाँच गर्न तथा रकम स्थानान्तरण गर्न समस्या भोगेका थिए । डाउनडिटेक्टरका अनुसार चेस बैंकको सेवा प्रभावित भएको भन्दै करिब पाँच हजार गुनासा दर्ता भएका थिए ।
चेस बैंकले भने समस्या अस्थायी रहेको र कुनै साइबर आक्रमण नभएको स्पष्ट पारेको छ । बैंकका अनुसार ग्राहकको खाता र रकम सुरक्षित छन् । सोमबार साँझदेखि सेवामा क्रमिक सुधार आउन थालेको थियो । यसैगरी, बैंक अफ अमेरिकाका ग्राहकले एटिएम र मोबाइल बैंकिङमा तथा वेल्स फार्गोका ग्राहकले खातामा लगइन गर्न समस्या भोगेका थिए । यूएस बैंकका ग्राहकले पनि डिजिटल भुक्तानी सेवा जेलेमार्फत रकम पठाउँदा त्रुटि सन्देश आएको गुनासो गरेका थिए ।
यसैबीच, अमेरिकामा बैंकिङ सेवामा समस्या देखिएकै दिन युनाइटेड एयरलाइन्सको प्रणालीमा पनि प्राविधिक अवरोध आउँदा उडान प्रभावित भएका थिए । यसअघि शुक्रबार सङ्घीय उड्डयन प्रशासनको दूरसञ्चार तथा नेटवर्क प्रणाली स्तरोन्नतिमा समस्या आउँदा अमेरिकाभर चार घण्टाभन्दा बढी समय उडान प्रभावित भएका थिए । पछिल्लो समय अमेरिकामा बैंकिङ, हवाई सेवा तथा डिजिटल प्रणालीमा लगातार प्राविधिक अवरोध देखिन थालेका छन् ।

