एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका दुवै टोली आजको खेल जित्दै सिधै फाइनलमा पुग्ने लक्ष्यमा छन् ।
लुम्बिनीले सात खेलमा पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंक जोडेर शीर्ष स्थान हासिल गरेको हो । यस्तै, सुदूरपश्चिमले पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । लुम्बिनीले लिग चरणको पहिलो खेलमै सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो । त्यसपछि पनि राम्रो प्रदर्शनलाई निरन्तरता दिँदै टोलीले पोखरा, जनकपुर, कर्णाली र विराटनगरलाई हराएको थियो ।
लुम्बिनीका डार्सी सर्टले ब्याटिङमा १४८ रन बनाएका छन् भने शेर मल्लले बलिङमा ९ विकेट लिएका छन् । यता, प्रतियोगिताको सुरुवातमा लगातार दुई हार बेहोरेको सुदूरपश्चिमले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार चार खेल जितेको थियो । टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सात खेलमा १५० रन बनाएका छन् भने अनिल खरेलले १० विकेट लिएका छन् ।
पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेशको अर्को अवसर पाउनेछ । लुम्बिनी र सुदूरपश्चिमबीच यसअघिका चार भेटमा दुवै टोलीले समान दुई–दुई खेल जितेका छन् । तर, यस संस्करणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो ।
पछिल्ला दुई भेटमा लगातार जित निकालेको लुम्बिनी त्यही लय कायम राख्न चाहन्छ भने सुदूरपश्चिम बदला लिने योजनामा हुनेछ । साबिक विजेता लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा रहँदा गत संस्करणको उपविजेता सुदूरपश्चिम यसपटक उपाधि जित्ने अभियानमा छ ।

