विराटनगरमा राति २ बजेसम्म होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालन गर्न पाइने

विराटनगर । विराटनगर क्षेत्रमा आजदेखि राति २ बजेसम्म होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ पारित गरेसँगै व्यवसाय सञ्चालनको बाटो खुलेको हो ।

मापदण्डअनुसार राति १० बजेसम्म सञ्चालन हुने व्यवसायले छुट्टै अनुमति लिनुपर्ने छैन । तर, राति १२ बजेसम्म खुल्ने किराना, चिया, मिठाई, रेस्टुरेन्ट तथा खाना–खाजा पसलले प्रशासनबाट अनुमति लिनुपर्नेछ । त्यस्तै, पब, डान्स क्लब, डिस्को, लाइभ म्युजिक, दोहोरी तथा गजल रेस्टुरेन्ट राति २ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

व्यवसाय सञ्चालनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ । अनुगमन समितिको स्थलगत निरीक्षणपछि मात्र अनुमति प्रदान गरिनेछ । मापदण्डले सुरक्षा र ध्वनि नियन्त्रणलाई समेत प्राथमिकता दिएको छ । मनोरञ्जनात्मक व्यवसायमा साउन्डप्रुफ भवन, सीसीटीभी, अग्नि नियन्त्रण उपकरण, आपत्कालीन द्वार, पार्किङ र सुरक्षा गार्ड अनिवार्य गरिएको छ ।

यस्तै, मदिरा बिक्री तथा सेवनका लागि निश्चित समय तोकिएको छ । मदिरा पसल बिहान १० देखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । डान्सबार, पब, डिस्को तथा दोहोरीमा १८ वर्षमुनिका व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । राति १० बजेपछि सेवा लिन बाहिर निस्कने ग्राहकले समेत परिचयपत्र बोक्नुपर्नेछ ।

मापदण्ड उल्लङ्घन गर्ने व्यवसायको अनुमति रद्द गरी कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मापदण्डको कार्यान्वयन तथा अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

Facebook Comments Box