साउदीको ईस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण
रियाद – साउदी अरबको महत्त्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणबाट केही पम्पिङ स्टेसनमा आगलागी हुनुका साथै केही मानिस घाइते भएका छन् । साउदी ऊर्जा मन्त्रालयका अनुसार पाइपलाइनमा बिहीबार पटक–पटक आक्रमण भएको थियो । सुरक्षाका लागि पाइपलाइन बन्द गरी क्षतिको मूल्याङ्कन र आवश्यक सुरक्षा उपाय अपनाउन टोली परिचालन गरिएको छ ।
अमेरिकी अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा पाइपलाइनमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको देखिएको बताएका छन् । आक्रमणमा प्रयोग भएका ड्रोन इराकबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ । तर घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
साउदी विदेश मन्त्रालयले पनि रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनले आक्रमण गरेको जनाएको छ । घटनापछि इराकले आफ्नो भूभाग वा हवाई क्षेत्रलाई कुनै पनि देशमाथि आक्रमणका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ ।
आक्रमणपछि साउदी अरबले तत्काल प्रतिकार नगर्ने निर्णय गरेको छ । इराकी प्रधानमन्त्रीले आफ्नो भूमिबाट साउदी तथा छिमेकी मुलुकमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएपछि इराकलाई अनुसन्धान र कारबाहीका लागि अवसर दिइएको साउदी पक्षले जनाएको छ ।
उपग्रह तस्बिरमा पाइपलाइनका केही पम्पिङ स्टेसनमा ठूलो आगलागी भएको देखिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार पम्पिङ स्टेसनको क्षति तुलनात्मक रूपमा छिटो मर्मत हुनसक्ने भए पनि पाइपलाइनमै ठूलो क्षति भएको भए मर्मतमा थप समय लाग्न सक्छ ।
अमेरिका–इरान युद्धका कारण स्ट्रेट अफ होर्मुजबाट तेल ढुवानी प्रभावित भइरहेका बेला ईस्ट–वेस्ट पाइपलाइन साउदी अरबका लागि अझ महत्त्वपूर्ण बनेको छ । यसमार्फत साउदी अरबले फारसको खाडीको वैकल्पिक मार्ग प्रयोग गरी लाल सागरको यान्बु बन्दरगाहबाट तेल निर्यात गर्दै आएको छ ।
यमनका हुथी समूहबाट लाल सागर र बाब अल–मन्देब क्षेत्रमा साउदी तेलवाहक जहाजमाथि आक्रमणको चेतावनीसमेत आइरहेका बेला पाइपलाइनमाथिको पछिल्लो आक्रमणले साउदी तेल निर्यात पूर्वाधारको सुरक्षामाथि थप चुनौती देखाएको छ ।
मध्यपूर्वमा बढ्दो तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य यसै साता प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । साउदीको तेल निर्यात पूर्वाधारमा लामो समय अवरोध भए विश्व बजारमा तेलको मूल्य र आपूर्तिमा थप असर पर्न सक्ने चिन्ता बढेको छ ।

